-
 
 
 
Cabinet Decision >>

मितिः २०६४।२।२४

नेपाल सरकार मन्त्रिपरिषद्को २०६४ साल जेठ २३ गते बसेको बैठकले गरेका निर्णयहरूः

१.  मिति २०६३।१२।२७ को मन्त्रिपरिषद्को बैठकबाट स्विकृत भई व्यवस्थापिका-संसदमा प्रस्तुत नेपालको अन्तरिम संविधान, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिई नेपालको अन्तरिम संविधान (दोश्रो संशोधन), २०६४ चालु व्यवस्थापिका-संसद समक्ष कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले पेश गर्ने ।

२.  रौतहटको गौर नगरपालिका क्षेत्रमा २०६३।१२।७ गते घटेको घटनाको सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगको थप म्याद समाप्त हुने मिति २०६४।२।१७ देखि बढीमा पैतालीस दिन थप गर्ने ।

३.  नेपाल सरकार र एशियाली विकास बैंकको आपसी सहमतिको आधारमा मेलम्ची खानेपानी आयोजना शीघ्र कार्यान्वयन गर्न एशियाली विकास बैंकलाई अनुरोध गर्ने ।

४.  निजामती कर्मचारीका सङ्घ/संगठनहरुले राखेका माग र तत्सम्बन्धी समस्या समाधानका लागि सामान्य प्रशासन मन्त्रालयका सचिवको संयोजकत्वमा अर्थ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव श्री दिपेन्द्र विक्रम थापा समेत रहेको निजामती कर्मचारीका तलब तथा कानूनी व्यवस्था लगायतका समस्या समाधान तथा सुविधा सिफारिस कार्यदल गठन गरी यथासम्भव छिटो सिफारिस प्रतिवेदन पेश गर्न लगाउने ।

५.  राजप्रासाद सेवाका कर्मचारीहरु बारेः
क) राजप्रासाद सेवाका कर्मचारीहरुलाई मात्र राख्ने गरी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा आवश्यक पर्ने विशेष पद सृजना गरी राजदरबारमा हाल कार्यरत कर्मचारीको पद सो अतिरिक्त समूहमा कायम गरी अन्यत्र समायोजन नहुँदासम्म साविकै ठाउँमा काममा खटाउने र उक्त पदहरु रिक्त भएमा स्वतः खारेज हुँदै जाने व्यवस्था गर्ने ।

ख) राजदरबारमा कार्यरत कर्मचारीहरुको प्रशासन र व्यवस्थापनको लागि नेपाल प्रशासन सेवाको विशिष्ट श्रेणीको पद एक सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सृजना गर्ने र सो पदमा रहने पदाधिकारीबाट राजप्रासाद सेवामा रही काम गर्ने कर्मचारीको प्रशासन र व्यवस्थापन गर्ने जिम्मेवारी तोक्नुपर्ने ।

६.  "First Nepali Labour Expedition 2007" नामक १ (एक) सदस्यीय पर्वतारोहण दललाई सगरमाथा आरोहण गर्न नियमानुसार लाग्ने सलामी दस्तुर अमेरिकी डलर २५,०००।- (पच्चीस हजार) मिनाहा दिने ।

(कृष्णबहादुर महरा)
मन्त्री
सूचना तथा सञ्चार

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI