माननीय सूचना तथा सञ्चार मन्त्री कृष्ण बहादुर महाराले
विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको
उपलक्ष्यमा दिनुभएको सन्देश
विश्व दूरसञ्चार संघको आह्वानमा नेपाल लगायत अन्य सदस्य राष्ट्रहरुमा आज मनाउन लागिएको दूरसञ्चार तथा सूचना समाज दिवसको उपलक्ष्यमा सूचना समाजको विश्व शिखर सम्मेलनले लिएको सिद्धान्त र अवधारणाहरु पुरा गर्न कटिबद्ध सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
अन्तर्राष्ट्रिय दूरसञ्चार संघले यस वर्ष Protecting Children in Cyberspace को नारा सहित बालबालिकाहरुमा इन्टरनेटबाट पर्न सक्ने नकारात्मक प्रभाव र विकृति बारे जनचेतना जगाउने जमर्को गरेको छ । नेपालमा पनि यस नारालाई सार्थक गर्न विभिन्न कार्यक्रमहरु मार्फत बालबालिका, अविभावक, शिक्षक तथा आम सचेत वर्गमा समेत चेतना अभिवृद्धि गर्ने उद्देश्य लिई यस सम्बन्धी विविध कार्यक्रम गर्न लागेको थाहा पाउँदा मलाई खुसी लागेको छ ।
सूचना तथा सञ्चार प्रविधिको सुविधा हाल आएर सबै उमेरका व्यक्तिहरुलाई अपरिहार्य भइसकेको छ । सोही अनुसार बालबालिकाहरुमा यस क्षेत्रबाट पर्न सक्ने नकारात्मक प्रभावलाई न्यून गर्न जनचेतनामूलक कार्यक्रमहरु अत्यावश्यक रहेकोले यसलाई नेपालभरि विभिन्न माध्यमबाट जनचेतना जगाउन आवश्यक देख्दछु । नेपाल सरकारले पनि यस क्षेत्रसँग आवद्ध विभिन्न निकायहरुसँग सहकार्य र समन्वय गरी विविध कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने देखिन्छ । यस किसिमका कार्यक्रमहरुले इन्टरनेटको गलत प्रयोगबाट बालबालिकामा आउने विकृतिमा कमी आउने कुरामा म विश्वस्त छु ।
अन्त्यमा यस कार्यमा संलग्न ब्यक्ति तथा संस्थालाई धन्यवाद दिन चाहन्छु ।
धन्यवाद !