-
 
 
 

पत्रकारिता अनुदान सहयोग सम्बन्धी निर्देशिका, २०६३

नेपालमा कार्यरत पत्रकारिता सम्बद्ध संस्थाहरुको विकासमा सहयोग पुर्‍याउन नेपाल सरकारले समय-समयमा उपलब्ध गराउने रकम वा सूचना तथा सञ्चार मन्त्रालयको अनुदान शीर्षकमा वाषिर्क रुपले विनियोजन हुने एकमुष्ट रकमको बाँडफाँट र खर्च प्रक्रिया सुव्यवस्थित, पारदर्शी र नियमित गर्ने उद्देश्यले नेपाल सरकारले यो निर्देशिका जारी गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ

(१) यो निर्देशिकाको नाम "पत्रकारिता अनुदान सहयोग सम्बन्धी निर्देशिका, २०६३" रहेको छ ।

(२) यो निर्देशिका नेपाल सरकारले निर्णय गरेको मितिदेखि प्रारम्भ हुनेछ ।

२. परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यो निर्देशिकामाः-

(क) "मन्त्रालय" भन्नाले सूचना तथा सञ्चार मन्त्रालय सम्झनु पर्दछ ।

(ख) "संस्था" भन्नाले सूचना तथा सञ्चार मन्त्रालयबाट रकम प्राप्त गर्ने प्रयोजनको लागि प्रचलित कानून बमोजिम दर्ता भएका पत्रकारितासँग सम्बद्ध संस्था सम्झनु पर्दछ ।

(ग) "पत्रकार" भन्नाले सूचना विभागबाट प्रेस पास प्राप्त गरेका सञ्चार माध्यममा कार्यरत वा स्वतन्त्ररुपमा पत्रकारिता क्षेत्रमा कार्यरत पत्रकार सम्झनु पर्दछ ।

(घ) "निर्देशिका" भन्नाले "पत्रकारिता अनुदान सहयोग सम्बन्धी निर्देशिका, २०६३" लाई

सम्झनु पर्दछ ।

३. अनुदान व्यवस्था समिति

पत्रकारितासँग सम्बद्ध संस्थालाई कार्यक्रम प्रस्तावका आधारमा अनुदान सहयोग बाँडफाँट गरी उपलब्ध गराउने निर्णय गर्न सचिव, सूचना तथा सञ्चार मन्त्रालयको संयोजकत्वमा निम्नानुसारको एक समिति गठन हुनेछ ।

(क) सचिव, सूचना तथा सञ्चार मन्त्रालय . ........................................ संयोजक

(ख) अध्यक्ष, प्रेस काउन्सिल नेपाल ............................................... सदस्य

(ख) सहसचिव, अर्थ मन्त्रालय ...................................................... सदस्य

(घ) महानिर्देशक, सूचना विभाग ........................................................ सदस्य

(ङ) सहसचिव, सञ्चार महाशाखा, सूचना तथा सञ्चार मन्त्रालय ................ सदस्य सचिव

यस निर्देशिकामा उल्लेख नभएका विषयहरुमा समिति आफैंले आधार, प्रक्रिया र कार्यविधिहरु तय गर्न सक्नेछ ।

४. प्रस्ताव आहृवान गर्ने

(क) प्रत्येक आर्थिक वर्षा विनियोजित भएको अनुदान रकम यसै निर्देशिकाको प्रकरण ५ बमोजिमका संस्थाहरुलाई अनुदान सहयोग उपलब्ध गराउन मन्त्रालयले राष्ट्रियस्तरको दैनिक पत्रिकामा कम्तीमा २ पटक र्सार्वजनिक सूचना प्रकाशित गरी कार्यक्रम सहितको प्रस्ताव आहृवान गर्नेछ ।

(ख) यसरी कार्यक्रम सहितको प्रस्ताव पेश गर्ने समय अवधि कम्तीमा ४५ दिनको हुनेछ ।

(ग) उक्त सूचनामा निम्नलिखित व्यहोरा खुलाउनु पर्नेछ ः

(१) प्रस्ताव पेश गर्न सक्ने संस्थाहरु -प्रकरण ५ बमोजिम),

(२) प्रस्तावमा समावेश हुनुपर्ने विषयहरु,

(३) प्रस्तावसँग संलग्न गर्नुपर्ने कागजातहरु,

(४) प्रस्ताव पेश गर्नु पर्ने स्थान,

(५) मन्त्रालयमा तोकिएको सर्म्पर्क अधिकारी

(घ) यस्तो सूचना मन्त्रालयको सूचना पाटीका अतिरिक्त मन्त्रालयको webpage: www.moic.gov.np मा समेत राखिनेछ ।

५. प्रस्ताव पेश गर्न सक्ने संस्थाहरू

प्रस्तुत अनुदान सहयोगका लागि निम्न बमोजिमका संस्थाले मन्त्रालयमा प्रस्ताव पेश गर्न सक्नेछन् ः

(क) प्रचलित कानून बमोजिम दर्ता भई कम्तीमा एक वर्षेखि कार्यरत रहेका पत्रकारिता र पत्रकारसँग सम्बन्धित गैरब्यापारिक र गैरनाफामूलक संस्थाहरू,

(ख) राष्ट्रिय, क्षेत्रीय र स्थानीयस्तरका पत्रकारिता सम्बद्ध संस्थाहरु ।

६. रकम बाँडफाँट गर्ने आधारहरू

सूचना तथा सञ्चार मन्त्रालयको नाममा अनुदान शर्षकमा विनियोजित रकम मध्ये बजेटको उपलब्धता, सम्बन्धित संस्थाले पेश गरेको विस्तृत विवरण सहितको कार्यक्रम प्रस्ताव र प्रस्तावित कार्यक्रमको औचित्य एवं सान्दर्भिकता समेतको अध्ययन गरी यसै निर्देशिकाको प्रकरण ३ मा उल्लेखित समितिले एउटा संस्थालाई बढीमा एक लाखसम्म आर्थिक सहायता उपलब्ध गराउने गरी बाँडफाँट गर्न सक्नेछ ।

साथै यसरी रकम निर्धारण गर्दा नेपालको प्रजातान्त्रिक/लोकतान्त्रिक आन्दोलन, प्रेस स्वतन्त्रता र पत्रपत्रिका क्षेत्रको विकासमा महत्वपर्ण योगदान पुर्‍याउने, दर्ुगम क्षेत्रमा सञ्चालित सञ्चार सम्बद्ध संस्थाहरू र लैङ्गकि समानता एवम् महिला सशक्तीकरणका क्षेत्रमा कार्यरत पत्रकारितासँग सम्बन्धित संस्थाहरुलाई प्राथमिकता दिइनेछ ।

७. कार्यक्रमको प्रस्तावमा उल्लेख हुनुपर्ने विवरणहरू

अनुदान सहयोग माग गर्ने संस्थाले कार्यक्रम प्रस्तावसाथ निम्न लिखित विवरण उल्लेख गर्नु पर्नेछ ः-

(१) संस्थाको स्थापना, उद्देश्य र परिचय

(२) हालसम्म गरिएका प्रमुख कार्यहरु

(३) यस अघि मन्त्रालयबाट कुनै अनुदान सहयोग प्राप्त गरेको भए सो सम्बन्धी विवरण -आ.व.र रकम)

(४) संस्थाको बैंक खाता नं. र बैंकको ठेगाना

(५) प्रस्तावित कार्यक्रमको रुपरेखा -कार्यक्रमहरु, उद्देश्य, कार्यक्रम गरिने स्थान, समय, कार्यक्रम अर्न्तर्गत गरिने क्रियाकलापहरु, कार्यक्रमको कूल लागत, व्यहोर्ने श्रोतहरु, सूचना तथा सञ्चार मन्त्रालयबाट अपेक्षा गरिएको प्रस्तावित सहयोग रकम, कार्यक्रमबाट पुग्ने प्रत्यक्ष, अप्रत्यक्ष लाभ तथा उपलब्धि, कार्यक्रमको लक्षित समूह र अन्य सान्दर्भिक विषयहरु) ।

८. प्रस्तावसाथ संलग्न राख्नुपर्ने कागजातहरू

(१) संस्था दर्ता प्रमाणपत्र -नवीकरण समेत),

(२) विधानको प्रतिलिपि,

(३) कर दर्ता प्रमाणपत्र,

(४) अघिल्लो आ.व.को लेखापरीक्षण प्रतिवेदन,

(५) अघिल्लो आ.व.मा त्यस्तो सहयोग पाएको भए कार्य प्रगति विवरण ,

(६) प्रतिवेदन, प्रकाशन आदि भए सो ।

९. रकम खर्च गर्न सकिने क्षेत्रहरू

नेपाल सरकारले उपलब्ध गराएको अनुदान सहयोग रकम सम्बद्ध संस्थाहरुले निम्नलिखित कार्यक्रमहरुमा खर्च गर्न सक्नेछन् ः-

१) आम सञ्चारका माध्यमहरुको भूमिका, महत्व र सुधारका विषयमा अध्ययन, अनुसन्धान, प्रकाशन आदि ।

२) सञ्चारकर्मीहरुको क्षमता बृद्धि -तालीम, कार्यशाला, स्थलगत अध्ययन, छात्रवृत्ति, पुरस्कार आदि) ।

३) समसामयिक जनचेतनामूलक, सहभागितामूलक, समावेशीकृत, महिला सशक्तीकरण जस्ता विषयमा कार्यशाला, गोष्ठी छलफल, अन्तरक्रिया आदि ।

४) सम्बन्धित संस्थ्ााले गर्ने पत्रकारितासँग सम्बद्ध अन्य सामाजिक र विकास कार्यहरू ।

५) रचनात्मक प्रयोजनको लागि अक्षय कोषको स्थापना ।

६) संस्थाको विशेष कार्यक्रमहरू ।

७) मन्त्रालयले स्वीकृत गरेको अन्य कार्यहरू ।

१०. रकम बाँडफाँटको सूचना

अनुदान रकम व्यवस्था समितिले अनुदान सहयोग रकम बाँडफाँड गर्ने निर्णय गरिसकेपछि कुन संस्थाले कति रकम प्राप्त गरेको छ सो को विवरण दैनिक पत्रिकामा प्रकाशित गरिनेछ र मन्त्रालयको वेभसाइटमा राखी सूचना पाटीमा पनि टाँस गरिनेछ । सो सूचनामा सम्झौता गर्न आउने अवधि समेत तोकिनेछ ।

११. रकम निकासा

स्वीकृत अनुदान सहयोग रकम सो संस्थाको नाममा खोलिएको खातामा A\C payee उबथभभ चेकद्वारा एकमुष्ट भुक्तानी दिइनेछ ।

१२. सम्झौता गर्नुपर्ने

(क) मन्त्रालयले रकम निकासा गर्दा तोकिएको फाराममा सम्बन्धित संस्थाका आधिकारिक व्यक्तिसँग सम्झौता गराएर मात्र रकम निकासा गर्नेछ । त्यस्तो द्विपक्षीय सम्झौताको नमूना अनुसूची ३ मा समावेश गरिएको छ ।

(ख) तोकिएको अवधिभित्र सम्झौता गर्न नआएका संस्थाहरुलाई मन्त्रालयले रकम नदिन सक्नेछ ।

१३. कार्य प्रगति विवरण

संस्थाले आफूले गरेको कार्य प्रगति विवरण र मन्त्रालयबाट प्राप्त अनुदान सहयोग रकमको खर्चको विवरण कार्य सम्पन्न भएको ३ महिनाभित्र अनिवार्यरुपले मन्त्रालयमा पेश गर्नुपर्नेछ । सो प्रगति विवरणको नमूना अनुसूची ४ मा छ ।

१४. लेखा तथा लेखा परीक्षण व्यवस्था

सूचना तथा सञ्चार मन्त्रालयबाट रकम प्राप्त गर्ने संस्थाले प्रचलित कानून अनुसार लेखा राख्नुपर्नेछ । त्यस्ता संस्थाहरुले प्रचलित कानून अनुसार स्वीकृत लेखापरीक्षकबाट लेखापरीक्षण कार्य सम्पन्न गरीे पछिल्लो आ.व.को पौष महिनाभित्र मन्त्रालयमा लेखापरीक्षण प्रतिवेदन पेश गर्नुपर्नेछ ।

१५. अनुगमन र मूल्याङ्कन

अनुदान सहयोग रकम उपलब्ध गराइएका संस्थाहरुको अनुदान रकमसँग सम्बन्धित कार्यक्रमहरुको स्थलगत अनुगमन सूचना तथा सञ्चार मन्त्रालयले गर्ने गराउनेछ । यस्तो अनुगमन फारामको नमूना अनुसूची ५ मा संलग्न गरिएको छ ।

१६. अभिलेख राख्ने

अनुदान प्राप्त संस्थाले त्यस्तो रकम निर्धारित कार्यक्रममा खर्च नगरेको पाइएमा वा मन्त्रालयमा पेश गर्नुपर्ने विवरणहरु पेश नगरेमा त्यस्तो अनुदान रकम फिर्ता गर्न आदेश दिनुका साथै त्यस्ता संस्थाहरुको नाम कालो सूचीमा राखी त्यस्ता संस्थाहरुलाई पछिल्लो ३ वर्षो लागि कुनै पनि सरकारी आर्थिक अनुदान सहायता रोक्का गर्न सक्नेछ ।

१७. अन्य शर्तहरू

(१) सम्वद्ध संस्थाले जुन प्रयोजनको लागि त्यस्तो रकम प्राप्त गरेको हो सोही कार्य र प्रयोजनमा मात्र त्यस्तो रकम खर्च गर्नु पर्नेछ ।

(२) त्यस्तो सहयोग रकमको हिसाब-किताबको श्रेस्ता अद्यावधिक गरी राख्नु त्यस्तो संस्थाको कर्त्तव्य हुनेछ ।

(३) मन्त्रालयबाट हुने अनुगमनबाट रकमको उपयोग नभएको वा दुरुपयोग भएको पाइएमा वा प्राप्त उजूरीको छानविनबाट त्यस्तो प्रमाणित हुन आएमा त्यस्तो संस्थालाई कालो सूचीमा राखी अर्को तीन वर्षो लागि कुनै पनि सरकारी अनुदान सहयोग रकम उपलब्ध गराइने छैन ।

१८. सरकारी बाँकी सरह हुने

अनुदान सहयोग रकम प्राप्त गर्ने संस्थाका पदाधिकारी, कार्मचारीहरु र अन्य सम्बन्धित व्यक्तिले त्यस्तो रकम हिनामिना गरेको पाइएमा प्रचलित कानून अनुसार कारवाही गरी सरकारी बाँकी सरह असूल उपर गरिनेछ ।

१९. विविध

(क) यस प्रयोजनका लागि विनियोजित बजेटको ५ प्रतिशत रकम यसै निर्देशिका बमोजमको प्रशासनिक कार्य, सूचना प्रकाशन, प्रचार प्रसार र अन्य बैठक खर्च जस्ता कार्यमा खर्च गरिनेछ ।

(ख) यो निर्देशिकामा नपरेका अन्य कुराहरु प्रचलित कानून अनुसार हुनेछन् ।

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI