मितिः २०६४।४।१३
नेपाल सरकार मन्त्रिपरिषद्को २०६४ साल श्रावण १३ गते बसेको बैठकले गरेका निर्णयहरूः
१. नेपाल सरकारले दैवी प्रकोप पीडितहरुको उद्धार एवं राहत सहयोगका लागि देहाय बमोजिमको अपील गर्ने-
केही दिनदेखि मुलुकका विभिन्न भागमा परेको अविरल बर्षाले गर्दा तराईका प्रायः सबैजसो भू-भाग जलमग्न भई त्यहाँ बसोबास गर्ने दिदीबहिनी तथा दाजुभाइहरुले असहनीय दुःख र पीडा भोग्नु परिरहेको छ । वर्षाबाट तराईका सबैजसो जिल्ला र पहाडी क्षेत्रका कतिपय जिल्लाहरु अति नै प्रभावित हुन गई करिब एक लाख मानिस विस्थापित भएका, हजारौं बिगाहा जग्गा डुवानमा परी बालीनालीको क्षति भएको तथा हजारौं घर डुबान परेका, बगेका एवं भत्किएका छन् । बाढी पहिरोको चपेटामा परी झण्डै छ दर्जन व्यक्तिहरुले ज्यान गुमाइसकेका छन् । तत्काल उद्धार र राहत कार्य सरकारी एवं गैर सरकारी संस्थाहरुको सहयोग एवं संलग्नतामा भई नै रहेको छ । तथापि, सम्पूर्ण सरकारी प्रयासका बावजुद पनि प्रतिकूल मौसमका कारणले कतिपय स्थानमा राहत पुर्याउन कठिनाइ भइरहेको छ ।
यस्तो राष्ट्रिय विपत्तिको घडीमा पीडित परिवारलाई सबैले आ-आफ्नो स्थानबाट यथाशक्य नगदी तथा जिन्सी सहयोग पुर्याउनु हामी सवैको कर्तव्य मात्र होइन कि यस्तो दुःखद परिस्थितिमा सहयोग गर्नु एउटा पवित्र कार्य पनि हो । तसर्थ, यस विपत्तिको घडीमा सम्पूर्ण राजनीतिक दल एवं तिनका भातृ संस्थाहरु, समाजसेवी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, उद्योगी, अन्य व्यवसायी, व्यापारी, पत्रकार, नागरिक समाज, राष्ट्रसेवक कर्मचारी, सामाजिक संघ संस्था, गैर आवासीय नेपालीहरु, मित्रराष्ट्रहरु तथा विभिन्न दातृ निकायहरु र अन्तर्राष्ट्रिय समुदाय लगायत सबै नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई उदार मनले सहयोग पुर्याउन नेपाल सरकार हार्दिक आग्रह गर्दछ ।
यस प्रयोजनका लागि सहयोग गर्ने संघ संस्था एवं महानुभावहरुले प्रदान गर्नुहुने सहयोग दैवी प्रकोपबाट पीडित भएकाहरुको उद्धार र त्यसबाट भएको क्षतिको पुनर्निर्माण तथा पुनःस्थापना गर्ने कार्यमा मात्र खर्च गर्ने गरी खडा गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको देहायका बैंक खातामा रकम जम्मा गर्न अपील गर्दछ ।
साथै, काठमाडौं उपत्यका बाहिरको हकमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा एकाउण्टपेयी ड्राफ्ट बनाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा पठाइदिनु हुन समेत हार्दिक अनुरोध गर्दछ ।
१. नेपाल बङ्गलादेश बैंक लिमिटेड, काठमाडौं प्लाजामा रहेको खाता नं. ०३५१४१ सी
२. नेपाल बैंक लिमिटेड, जुद्धसडक शाखामा रहेको खाता नं. ००२-११-०५३३१३
३. नेपाल स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड, लाजिम्पाटमा रहेको खाता नं. १८०१३२४३८०१
२. दैवी प्रकोप पीडितहरुको तत्काल उद्धार तथा राहत कार्यका लागि अर्थ मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई पाँच करोड रुपैयाँ थप निकाशा दिने ।
३. बाढी पहिरोको कारणबाट मृत्यु भएका व्यक्तिहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै निजहरुका शोक सन्तप्त परिवार एवं मित्रजनहरुप्रति नेपाल सरकार, मन्त्रिपरिषद् गहिरो समवेदना व्यक्त गर्दछ । साथै, बाढी पहिरोको कारणबाट विपतमा परी विस्थापित भएका दिदी-बहिनी तथा दाजु-भाइहरुप्रति सहानुभूति व्यक्त गर्दै निजहरुलाई यथाशीघ्र उद्धार गर्न र राहत उपलब्ध गराउन सरकार पूर्ण प्रतिबद्धता व्यक्त गर्दछ ।
४. दैवी प्रकोप पीडितहरुको उद्धार तथा राहत कार्यका लागि सम्माननीय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरु र मन्त्रिपरिषद्का सचिव एवं नेपाल सरकारका मुख्य सचिवले सात दिनको पारिश्रमिक सहयोग स्वरुप उपलब्ध गराउने ।
५. पूर्व सहायक मन्त्री एवं व्यवस्थापिका-संसदका सदस्य डिल्लीराज शर्माको असामयिक निधन भएकोमा स्वर्गीय शर्माको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवार एवं मित्रजनहरुप्रति नेपाल सरकार, मन्त्रिपरिषद् गहिरो समवेदना व्यक्त गर्दछ ।
(कृष्णबहादुर महरा)
मन्त्री
सूचना तथा सञ्चार