-
 
 
 
प्रेस विज्ञप्ति >>

नेपाल सरकारका प्रवक्ता माननीय सूचना तथा सञ्चार मन्त्री श्री कृष्णबहादुर महराद्वारा जारी

प्रेस विज्ञप्ति

मितिः २०६४।४।१७

नेपाल सरकार मन्त्रिपरिषद्को २०६४ साल श्रावण १६ गते बसेको बैठकले गरेका निर्णयहरुः

१. विगत केही समयदेखि मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरोबाट हजारौं नेपाली दिदीबहिनी तथा दाजुभाइहरु प्रभावित भएका छन् भने कैयौं परिवार विस्थापित भएका छन् । प्राकृतिक प्रकोपको चपेटाबाट पीडित दिदीबहिनी तथा दाजुभाइहरुलाई राहत पुर्‍याई विस्थापित परिवारलाई पुनःस्थापना गर्नु तत्कालका लागि हामी सबैको साझा जिम्मेवारी हुनाले यस अवस्थामा हामी सबैले अझ बढी धैर्य, संयम र सहिंष्णुता देखाउनु पर्ने अवस्था रहेको छ ।

मुलुक संविधान सभाको निर्वाचनतर्फ अग्रसर भइरहेको अवस्थामा संविधान सभाको निर्वाचनबाट मुलुकका यावत समस्याहरु समाधान हुने अपेक्षा गरिएको छ । संविधान सभाको निर्वाचनलाई कुनै पनि हालतमा निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सफलतापूर्वक सम्पन्न गराउन शान्ति सुरक्षाको स्थितिलाई थप सुदृढ गरी भयरहित वातावरणमा संविधानसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको छ । यस स्थितिमा संविधान सभाको निर्वाचन सम्पन्न नभएसम्मका लागि कुनै पनि किसिमको बन्द, हडताल, घेराउ, चक्काजाम जस्ता विरोधका कार्यक्रम नगरी बाढी, पहिरो पीडितलाई राहत पुर्‍याउने कार्यमा जुट्न तथा संविधान सभाको निर्वाचनको कार्यक्रमलाई सफल तुल्याउन सम्पूर्ण राजनैतिक दल तथा तिनका भातृ/भगिनी संस्थाहरु, उद्यमी, व्यवसायी, विभिन्न पेशागत समुदाय, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज तथा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइलाई नेपाल सरकार हार्दिक अपिल गर्दछ ।

२. मं.प.बै.सं. ३।०६३ मिति २०६३।१।२२ को मन्त्रिपरिषद्को निर्णयानुसार सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्री कृष्णजंग रायमाझीको अध्यक्षतामा गठित उच्चस्तरीय जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन (भिन्न राय सहित) र सो प्रतिवेदन कार्यान्वयन सम्बन्धमा मन्त्रिपरिषद् समितिले दिएको प्रतिवेदन र सो आधारमा गरिएका कारवाही सहितको विवरण व्यवस्थापिका-संसद समक्ष पेश गरी सार्वजनिक गर्ने ।

३. मं.प.बै.सं. ५४।०६३ मिति २०६३।१२।९ को मन्त्रिपरिषद्को निर्णय अनुसार पुनरावेदन अदालत, पाटनका मा. न्यायाधीश श्री हरिप्रसाद घिमिरेको अध्यक्षतामा गठित तीन सदस्यीय आयोगले पेश गरेको गौर घटनासम्बन्धी प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने ।

४. इलाम जिल्ला, चुलाचुली क्षेत्रको अव्यवस्थित बसोबास समस्या समाधान सम्बन्धी समिति गठन आदेश, २०६४ स्वीकृत गर्ने ।

५. राष्ट्रिय गानको धुन स्वीकृत गर्ने बारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नं. २०।२८-०६४।४।११ को प्रस्ताव अनुसार श्री व्याकुल माइलाद्वारा रचित गीतलाई नेपाल राष्ट्रको राष्ट्रिय गानका रुपमा स्वीकृत गर्ने, प्रस्तावित वैकल्पिक धूनहरुमध्ये ट्रयाक नं. ३. ए धुन स्वीकृत गर्ने र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रस्तुत धुनको म्युजिक ट्रयाक (Music Track) वरिष्ठ संगीतकार श्री अम्बर गुरुङ्ग मार्फत् तयार गर्ने व्यवस्था मिलाउने ।

(कृष्णबहादुर महरा)
मन्त्री
सूचना तथा सञ्चार

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI