-
 
 
 
प्रेस विज्ञप्ति >>

नेपाल सरकारका प्रवक्ता माननीय सूचना तथा सञ्चार मन्त्री श्री कृष्णबहादुर महराद्वारा जारी

प्रेस विज्ञप्ति

मितिः २०६४।५।१९

नेपाल सरकार मन्त्रिपरिषद्को २०६४ साल भाद्र १७ गते बसेको बैठकले गरेको निर्णयः

१. नेपाल सरकारले देहायबमोजिमको अपिल जारी गर्ने -

यही २०६४ साल भाद्र १६ गते आइतवारका दिन अपराहृन काठमाण्डौका विभिन्न सार्वजनिक  ठाउँ र सार्वजनिक परिवहनको साधनमा नियोजित रूपमा शृंखलाबद्ध तवरले बम विस्फोट गराई दुई जनाको कायरतापूर्वक हत्या र दुई दर्जनभन्दा बढी व्यक्ति घाइते  बनाएकोमा २०६४ साल भाद्र १७ गतेका दिन बसेको नेपाल सरकार, मन्त्रिपरिषद्को आकस्मिक बैठक त्यस्तो बर्बर एवं कायरतापूर्ण, आतंककारी र अमानवीय कार्यको घोर निन्दा र भर्त्सना गर्दछ । त्यस प्रकारको आतंककारी कार्यबाट दिवङ्गत हुनुभएका दुई नेपाली नागरिकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । मृतकका परिवारजनहरूमा हार्दिक समवेदना व्यक्त गर्दछ । यस दुःखद घटनामा परी घाइते भएका सबैको स्वास्थ्योपचारका लागि लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्नेछ ।

मुलुकलाई शान्ति, अग्रगमन तथा प्रगतिको दिशामा लैजाने प्रमुख मार्गको रूपमा हुन लागेको संविधान सभाको निर्वाचनको तयारीमा रहेको अवस्थामा यस प्रकारको कायरतापूर्ण कार्यलाई सरकारले आगामी २०६४ साल मंसीर ६ गते हुनगइरहेको संविधान सभाको निर्वाचनलाई बिथोल्ने बदनियतले प्रेरित एक गम्भीर र नियोजित षडयन्त्रको रूपमा लिएको छ । यस्तो कार्य जुनसुकै बहानामा जोसुकैले गरे गराएको भए तापनि त्यस्तो कार्यमा संलग्न जो कोहीलाई न्यायको रोहमा ल्याई कडा कारबाई गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको छ । यस्ता आपराधिक एवं विध्वंशात्मक कार्य गरी संविधान सभाको निर्वाचन बिथोल्ने षडयन्त्रलाई नेपाली जनताले कुनै पनि हालतमा स्वीकार गर्ने छैनन् । यस्ता षडयन्त्रहरूको प्रतिकार गर्न र संविधान सभाको निर्वाचन घोषित मितिमा नै सम्पन्न गर्न सम्पूर्ण नेपाली नागरिकहरूलाई एकजुट हुन नेपाल सरकार अपिल गर्दछ । मुलुकको शान्ति, सुरक्षा तथा कानून र व्यवस्थाको स्थितिलाई अझ सुदृढ गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्धारित समयमा नै संविधान सभाको निर्वाचन गराइछाड्ने राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार दृढ रहेको कुराको प्रतिबद्धता व्यक्त गर्न चाहन्छ ।

आजको यस संवेदनशील घडीमा यस्ता आपराधिक, बर्बर तथा अमानवीय घटना भविष्यमा दोहोरिन नदिन कडाइका  साथ सुरक्षा निकायलाई परिचालन गर्न आवश्यक निर्देशन दिइसकिएको छ । मुलुकमा शान्ति, सुरक्षा तथा कानून र व्यवस्थाको स्थितिलाई सुदृढ गर्ने सरकारको प्रयासलाई सहयोग गर्नुहुन सम्पूर्ण राजनैतिक दल, तिनका भातृ संगठनहरू, राष्ट्रसेवकहरू, नागरिक समाज तथा सर्वसाधारण जनसमुदायमा सरकार हार्दिक अपिल गर्दछ ।

(कृष्णबहादुर महरा)
मन्त्री
सूचना तथा सञ्चार

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI