-
 
 
 
प्रेस विज्ञप्ति >>

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय

मितिः २०६४।३।५

प्रेस विज्ञप्ती

माननीय सूचना तथा सञ्चार मन्त्री श्री कृष्ण बहादुर महराको समुपस्थितिमा यस मन्त्रालयमा आज सरकारी सञ्चार माध्यमका प्रतिनिधि लगायत सञ्चार विज्ञहरुसँग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो । सो अन्तरक्रिया कार्यक्रममा वर्तमान समयमा सरकारी सञ्चार माध्यमहरुको समस्या, चुनौती एवम् सम्भावनाहरुका सम्बन्धमा छलफल गरियो । छलफलका क्रममा आम जनसमुदायको चाहना एवम् आकांक्षा बमोजिम वैचारिक, नीतिगत एवम् कार्यक्रमहरुमा तत्कालीन रुपमा के कस्ता सुधारहरु गर्न सकिन्छ र दीर्घकालीन रुपमा के कस्तो नीति एवम् प्रक्रिया अवलम्बन गरी यस्ता सञ्चार माध्यमहरुलाई सार्वजनिक प्रसारण संस्थाको रुपान्तरण गर्न उपयुक्त हुन्छ भन्ने सम्बन्धमा समेत महत्वपूर्ण सुझावहरु प्राप्त भएको छ । साथै मुलुक संविधानसभाको निर्वाचनतर्फ अग्रसर भैरहेको वर्तमान अवस्थामा यस महान राष्ट्रिय अभियानमा सरकारी सञ्चार माध्यमहरुले जनजागरणको सम्बन्धमा पुर्‍याउनु पर्ने भूमिकाका विविध पक्षमा समेत छलफल भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा माननीय सूचना तथा सञ्चार मन्त्री श्री कृष्ण बहादुर महराले सरकारी सञ्चार माध्यमलाई जनपक्षीय बनाएर लैजान पहल भैरहेको बताउनु हुँदै अन्तरक्रिया कार्यक्रममा विद्वान विज्ञहरुबाट सैद्धान्तिक, वैचारिक र नीतिगत रुपमा महत्वपूर्ण सुझावहरु प्राप्त भएको र प्राप्त सुझावहरुलाई अहिलेको यथार्थमा तत्कालीन रुपमा के कति सुधार गर्न सकिन्छ र दीर्घकालमा कहाँसम्म पुग्ने भन्ने सम्बन्धमा महत्वपूर्ण सार्थक वहस भएको उल्लेख गर्नुभयो । साथै उहाँले आगामी दिनमा राजनैतिक दलका प्रतिनिधिहरुसँग समेत छलफल गरी ठोस निश्कर्षमा पुग्ने मन्त्रालयको सोच रहेको उल्लेख गर्नुभयो ।

सो अन्तरक्रिया कार्यक्रममा व्यवस्थापिका-संसदका विधायक श्री नारायण प्रसाद रेग्मीका साथै सूचना तथा सञ्चार मन्त्रालयका निमित्त सचिव एवम् प्रवक्ता श्री नारायण प्रसाद रेग्मी, सूचना तथा सञ्चार मन्त्रालयका सल्लाहकार श्री महेश्वर दाहाल, नेपाल टेलिभिजनका अध्यक्ष श्री ऋषिराज बराल, महाप्रबन्धक श्री मदनकुमार शर्मा, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष श्री ओम शर्मा, प्रधानसम्पादक श्री विजय चालिसे, राष्ट्रिय समाचार समितिका अध्यक्ष श्री तारानाथ दाहाल, रेडियो नेपालको कार्यकारी निर्देशक श्री रामशरण कार्की, सञ्चारविज्ञ श्री विनय कुमार कसजु, सामुदायिक रेडियो सहयोग केन्द्रका श्री रघु मैनाली, फोटो पत्रकार श्री रमेश क्षेत्री, श्री कुमार शाह, श्री रामप्रसाद हुमागाँइ, श्री निराजन खनाल, श्री टेकबहादुर टेर, श्री प्रमोद दाहाल, श्री विनोद ढुंगेल र श्री देवीराम सापकोटा समेतका सञ्चार विज्ञहरुको उपस्थिति थियो ।

(नारायण प्रसाद रेग्मी)
प्रवक्ता
सूचना तथा सञ्चार मन्त्रालय

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI