-
 
 
 
Press Release >>

नेपाल सरकारका प्रवक्ता माननीय सूचना तथा सञ्चार मन्त्री श्री कृष्णबहादुर महराद्वारा जारी

प्रेस विज्ञप्ति

मितिः २०६४।२।८

नेपाल सरकार मन्त्रिपरिषद्को २०६४ साल जेठ ७ गते बसेको बैठकले गरेका निर्णयहरूः

१. माओवादी सेनाका लडाकूहरूको रेखदेख सम्बन्धी विषयलाई व्यवस्थित गर्ने बारे देहाय बमोजिम गर्ने ।
(क) माओवादी लडाकूहरू रहेको अस्थायी शिविरहरूमा अस्थायी आवास गृहको निर्माण कार्य भौतिक योजना तथा निर्माण मन्त्रालयले गर्ने र सो निर्माण कार्यको प्रगतिको आधारमा भौतिक योजना तथा निर्माण मन्त्रालयलाई रकम निकासा दिने ।

(ख) साविकमा मिति २०६४।१।१६ को निर्णयानुसार गठन भएको स्थानीय निर्माण समितिको सट्टा देहाय बमोजिमको स्थानीय निर्माण समिति गठन गर्ने र निर्माण कार्य तत्कालै सुचारु गर्ने ।
स्थानीय शिविर व्यवस्थापन कार्यालयको प्रमुख - संयोजक
ने.क.पा.माओवादीको स्थानीय शिविर डिभिजन कमाण्डर वा प्रतिनिधि - सदस्य
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको प्रमुख - सदस्य

(ग) अस्थायी आवास गृह निर्माण कार्यको नियमित अनुगमन स्थानीय प्र.जि.अ.ले प्रत्येक ७।७ दिनमा गरी लडाकू रेखदेख तथा व्यवस्थापन समितिमा अनुगमन प्रतिवेदन प्रस्तुत गरी सोही आधारमा भौतिक योजना तथा निर्माण मन्त्रालयलाई निकासा दिने ।

(घ) अस्थायी शिविरमा रहेका माओवादी सेनाका लडाकूहरूलाई प्रतिव्यक्ति मासिक रू.३०००।- का दरले भत्ता उपलब्ध गराउने । यस सम्बन्धी अन्य सबै कुरा शीर्ष नेताहरूको परामर्शबाट टुङ्गो लगाउने ।

(ङ) माओवादी सेनाका लडाकूहरूको भेरिफिकेशन (प्रमाणिकरण) गर्ने कार्य तत्काल शुरु गर्ने ।

(च) माओवादी सेनाका लडाकूहरूको रेखदेख, समायोजन तथा पुनर्स्थापन गर्ने विशेष समितिको गठन तत्काल गर्ने ।

२. शहीद घोषणा गरी सुविधा उपलब्ध गराउने बारे देहाय बमोजिम गर्नेः
(क) कर्तव्यपालनको सिलसिलामा हत्या गरिएका श्री नवराज विष्टलाई नेपाल राष्ट्रको निजामती कर्मचारी शहीद घोषणा गर्ने ।

(ख) निजका परिवारलाई शहीद परिवारले पाए सरहको रू. दश लाख उपलब्ध गराउने ।

(ग) मं.प.बै.सं. २।०६४ मिति २०६४।१।१६ को मन्त्रिपरिषद्को बैकठबाट शैक्षिक तालिम केन्द्र बाराका पूर्व तालिम प्रशिक्षक स्वर्गीय वासुदेव पौडेललाई आर्थिक सहायता उपलब्ध गराउने भएको निर्णयको सट्टा निजलाई पनि खण्ड (क) बमोजिम निजामती कर्मचारी शहीद घोषणा गरी निजको परिवारलाई खण्ड (ख) बमोजिम रू. दश लाख उपलब्ध गराउने ।

(कृष्णबहादुर महरा)
मन्त्री
सूचना तथा सञ्चार

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI