नेपाल सरकार मन्त्रिपरिषद्को २०६४ साल असार ३२ गते बसेको बैठकले गरेका निर्णयहरूः
१. नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच मिति २०६४।३।१५ मा सम्पन्न "माओवादी नेतृत्वको सुरक्षा प्रबन्ध सम्बन्धी समझदारी" र "माओवादी सेनाका लडाकूहरुको अस्थायी शिविर र माओवादी नेताहरुद्वारा प्रयोग गरिएका सवारी साधन सम्बन्धी सहमतिपत्र" अनुमोदन गर्ने र सो समझदारी र सहमतिपत्रमा उल्लिखित हतियार तथा सवारी साधनको विवरण सम्बन्धित मन्त्रालयले लिई कार्यान्वयन गर्न गृह मन्त्रालय, शान्ति तथा पुनर्निर्माण मन्त्रालय र श्रम तथा यातायात व्यवस्था मन्त्रालयमा पठाउने ।
२. भारत सरकारले नेपालको सार्वजनिक वित्तिय प्रणाली विशेष गरी सरकारी लेखा प्रणालीमा सुधार, जनशक्ति विकासमा सहयोग र यी विषयमा नयाँ ज्ञान, शिप र अभ्यासको आदानप्रदान गर्ने उद्देश्यले प्रस्ताव गरेको मस्यौदा बमोजिमको समझदारी पत्र (Memorandum of Understanding) मा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ सचिवलाई अख्तियारी प्रदान गर्ने ।
३. मुक्त कमैयाहरुको पुनर्स्थापन सम्बन्धी समस्या समाधानका लागि समितिहरु गठन गरी काम, कर्तव्य र अधिकारको व्यवस्था गर्ने सम्बन्धमा नेपाल सरकार (मं.प.) को मिति २०६३।६।२ मा पारित प्रस्ताव तथा सो मा परिमार्जन गर्ने गरी मन्त्रिपरिषदबाट मिति २०६४।२।१७ मा भएको निर्णयमध्ये मुक्त कमैया पुनर्स्थापन निर्देशन समिति, केन्द्रीय समिति, जिल्ला समिति बर्दिया र कैलालीको म्याद २०६५ असार मसान्तसम्म, जिल्ला समिति बाँके र कञ्चनपुरको म्याद २०६४ चैत्र मसान्तसम्म र जिल्ला समिति दाङ्गको म्याद २०६४ पौष मसान्तसम्म थप गर्ने ।
४. (क) नेपाल र दक्षिण कोरियाबीच हुने श्रम संझौतामा दुवै पक्षबाट अन्तिम रुप दिइएको प्रस्तावित समझदारीपत्र (MOU) लाई सहमति एवं स्वीकृति प्रदान गर्ने ।
(ख) उक्त समझादारीपत्र (MOU) मा नेपाल सरकारको तर्फबाट माननीय श्रम तथा यातायात व्यवस्था राज्यमन्त्रीलाई सामान्य हेरफेर समेत गर्न सक्ने गरी हस्ताक्षर गर्न अख्तियारी दिने ।
(ग) उपरोक्त उद्देश्यका लागि कोरिया भ्रमणमा जाने प्रतिनिधिमण्डलका लागि लाग्ने खर्च अर्थ मन्त्रालयले निकासा दिने ।
५. Universal Postal Union (UPU) ले हुलाक सेवा विभागलाई प्रदान गर्ने Development Postal Services शीर्षकको Multi Year Intergrated Project Under UPU Ressources अन्तर्गत ६० हजार स्वीस फ्रयाङ्कको सहयोग स्वीकार गर्ने र उक्त सम्झैतामा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न हुलाक सेवा विभागका महानिर्देशकलाई अख्तियारी प्रदान गर्ने ।
६. मिति २०६४।३।७ मा मन्त्रिपरिषदबाट नेपाल सरकार वादी भै प्रतिवादी अम्बर बहादुर माझी भएको कर्तव्य ज्यान मुद्दामा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५१ बमोजिम प्रतिवादी अम्बर बहादुर माझीलाई भएको सजाय माफी गर्ने ।
(कृष्णबहादुर महरा)
मन्त्री
सूचना तथा सञ्चार