-
 
 
 
Press Release >>

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय

मितिः २०६४।३।३२

प्रेस विज्ञप्ती

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०६४।३।२८ को निर्णय अनुसार 'राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना सम्बन्धी अवधारणा' स्वीकृत भएकोले प्रेस विज्ञप्ति सार्वजनिक गरिएको छ ।

प्रस्तावको औचित्य
नेपालको अन्तरिम संविधान, २०६३ द्वारा प्रत्याभूत गरिएको सूचनाको हकलाई कार्यान्वयन गर्न, सार्वभौमसत्ता सम्पन्न नेपाली जनतालाई शिक्षा, मनोरञ्जन र ज्ञान (सूचना) प्रदान गर्नुका साथै सरकारको सहयोगी एवम् सचेतकको रुपमा पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । जनआन्दोलन-२ मा सो क्षेत्रबाट पुर्‍याइएको अविस्मरणीय योगदान हामी सबै सामु छर्लङ्ग छ । निरंकुशतन्त्रको अन्त्य एवम् लोकतन्त्रको स्थापनाको निमित्त अनेकौं दुःख कष्ट झेली महत्वपूर्ण योगदान पुर्‍याएका राष्ट्रको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रमा कार्यरत पत्रकारहरुलाई प्रोत्साहित गर्ने गरी निश्चित नीति तथा कार्यक्रम अवलम्बन गर्नु वर्तमान लोकतान्त्रिक सरकारको दायित्व पनि हो । यसर्थ, मर्यादित स्वच्छ तथा जनमुखी पत्रकारिताको माध्यमबाट देशको लागि महत्वपूर्ण योगदान पुर्‍याउने सञ्चार संस्था वा सञ्चारकर्मीलाई राज्यका तर्फाबाट पुरस्कृत गर्न रु. २ लाख रकम भएको राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना गर्न आवश्यक छ । हरेक वर्ष छनौट समितिको सिफारिसमा अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको दिन (मे ३ मा) एक कार्यक्रम आयोजना गरि माननीय मन्त्रीस्तरवाट निर्णय गरि प्रमाणपत्र सहित रु दुई लाख राशीको नगद पुरस्कार प्रदान गरिने छ । 

सिफारिश समिति सम्बन्धी व्यवस्था
राष्ट्रिय पत्रकारिता पुरस्कार सम्बन्धमा सिफारिस गर्न देहाय वमोजिमको एक पुरस्कार सिफारिस समिति व्यवस्था गरिएको छ ।

१.

सहसचिव, सञ्चार महाशाखा, सूचना तथा सञ्चार मन्त्रालय

संयोजक

२.

महानिर्देशक, सूचना विभाग

सदस्य

३.

प्रतिनिधि, नेपाल पत्रकार महासंघ

सदस्य

४.

सूचना तथा सञ्चार मन्त्रालयवाट मनोनित प्रतिष्ठित पत्रकार मध्येवाट १ जना
र नागरिक समाजको प्रतिनिधि १ जना समेत गरि २ जना

सदस्य

छनौटका आधारहरु
छनौट समितिले देहायका आधारमा राष्ट्रिय पत्रकारिता पुरस्कारको निमित्त एक जना व्यक्ति वा संस्थालाई सूचना तथा सञ्चार मन्त्रालय समक्ष सिफारिस गर्नेछ ।
१. पत्रकारिताको माध्यमबाट देश र जनतालाई सुसूचित गर्न महत्वपुर्ण योगदान पुर्‍याएका व्यक्ति वा संस्था ।
२. ग्रामिण क्षेत्र र उत्पिडित उपेक्षित समुदायको उत्थान एवं विकासमा अनुसन्धनात्मक, खोजमुलक पत्रकारिताको माध्यमबाट योगदान पुरयाएका व्यक्ति वा संस्था ।
३. निर्भिकतापूर्वक स्वतन्त्र, निष्पक्ष, जनमुखि एवं राष्ट्रिय स्वाधिनताप्रति सचेत रहि पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाएको व्यक्ति वा संस्था ।

(नारायण प्रसाद रेग्मी)
प्रवक्ता
सूचना तथा सञ्चार मन्त्रालय

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI