नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालयबाट जारी गरिएको
मितिः २०६४।४।३०
प्रेस विज्ञप्ति
संविधान सभाको निर्वाचनको तिथि नजिकिँदै जाँदा केही सञ्चार प्रतिष्ठानहरुमा व्यवस्थापन पक्ष र श्रमजीवि सञ्चारकर्मीबीच बढेको विवादप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
खासगरी गोरखापत्र संस्थान, एच.बी.सी. एफ.एम., अन्नपूर्ण पोष्ट, दी हिमालयन टाइम्स दैनिक लगायत सञ्चार संस्थाहरुमा भएको असहज परिस्थितिका कारण हाम्रो चिन्ता र चासो बढेको छ । सञ्चार प्रतिष्ठानहरुमा देखिएको श्रमजीवि सञ्चारकर्मी र व्यवस्थापन पक्षबीचको विवादलाई वार्ताबाट हल गर्न हामी सम्बन्धित पक्षहरुसँग हार्दिक अपील गर्दछौँ । सञ्चार क्षेत्रका विवादलाई सम्वादबाट समाधान निकाल्नका निम्ति नेपाल पत्रकार महासंघसहित विभिन्न संघ संगठनहरुलाई सकारात्मक पहल गरिदिन पनि हामी विशेष अनुरोध गर्दछौँ । जति प्रेस स्वतन्त्रता बलियो हुन्छ लोकतन्त्रलाई संस्थागत र विकास गर्न त्यति नै सजिलो हुन्छ भन्ने हाम्रो मान्यता रही आएको छ ।
लोकतन्त्रको पक्षधरबीचमा देखिएका यावत समस्यालाई सम्वादबाट समाधान गरेर देशमा अग्रगामी राजनीतिक निकास निकाल्ने सकारात्मक वातावरण बनाउनका लागि मन्त्रालय सदैव क्रियाशील छ । यसका निम्ति मन्त्रालय सबैसँग सहयोगको अपेक्षा राख्दछ ।
(कृष्णबहादुर महरा)
मंत्री
सूचना तथा सञ्चार