-
 
 
 

रेडियो ऐन, २०१४ लाई संशोधन गर्न बनेको विधेयक

प्रस्तावनाः रेडियो ऐन, २०१४ लाई संशोधन गर्न बान्छनीय भएकोले,
प्रतिनिधि सभाको घोषणा,२०६३ जारी भएको पहिलो वर्षा प्रतिनिधि सभाले यो ऐन बनाएको छ ।

(१) संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम "रेडियो (दोस्रो संशोधन) ऐन २०६३" रहेको छ ।
(२)यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

(२) रेडियो ऐन, २०१४को दफा २ मा संशोधनः रेडियो ऐन, २०१४ (यस पछि "मूल ऐन" भनिएको) को, - दफा (२) को
(क) खण्डको सट्टा देहायको खण्ड (क) थपिएको छः -
"(क) 'रेडियो यन्त्र' भन्नाले रेडियोसन्चार (रेडियोकम्युनिकेशन) को लागि प्रयोग हुने जुनसुकै प्रविधिमा आधारीत जुनसुकै रेडियो यन्त्र सम्झनुपर्छ ।"

(ख) खण्ड (क) पछि देहायको खण्ड (क१), (क२) र (क३) थपिएका छन्ः-
(क१) "रेडियोसन्चार (रेडियोकम्युनिकेशन)" भन्नाले कुनै तारको प्रयोग नगरी तीस किलोहर्ज देखि तीनहजार गिगाहर्ज सम्मको रेडियो फ्रिक्वेन्सीको विद्युतचुम्बकीय तरंग (इलेक्ट्रम्याग्नेटिक वेभ)को माध्यमबाट लेखोट, शव्द, संकेत, चित्र वा आवाजको उर्त्र्सजन (इमिसन), प्रेषण, प्राप्ती वा प्रसारण हुने कार्य सम्झनुपर्छ ।
(क२) "रेडियो फ्रिक्वेन्सी" भन्नाले रेडियोसन्चारको लागि प्रयोग हुने विद्युतचुम्बकीय तरंगको तीस किलोहर्ज देखि तीनहजार गिगाहर्ज सम्मको आवृत्ति सम्झनुपर्छ ।
(क३) "मन्त्रालय" भन्नाले सूचना तथा सञ्चार मन्त्रालय सम्झनुपर्छ ।

३. मूल ऐनको दफा ३ मा संशोधनः मूल ऐनको दफा ३ को ठाउँ ठाउँमा रहेको "बनाउन" भन्ने शब्द पछि , "विक्री वितरण गर्न" भन्ने शव्दहरु थपि सोही दफाको प्रतिवन्धात्मक वाक्यांशमा रहेको "रेडियो यन्त्र राख्न, बनाउन वा प्रयोग गर्न" भन्ने शव्दहरु पछि "तथा राष्ट्रिय प्रसारण ऐन, २०४९ बमोजिम प्रसारणको इजाजतपत्र प्राप्त व्यक्ति वा संगठीत संस्थाले रेडियो यन्त्र राख्न वा प्रयोग गर्न" भन्ने शव्दहरु थपिएको छ ।

४. मूल ऐनमा दफा ४क,४ख र ४ग थपः मूल ऐनको दफा ४ पछि देहायको दफा ४क, ४ख र ४ग थपिएको छः
४क. रेडियो फ्रिक्वेन्सी नीति निर्धारण सम्वन्धी व्यवस्थाः (१) प्रचलित काननमा जुनसुकै कुरा लेखिएको भएता पनि नेपाल राज्यभित्र जुनसुकै सेवाको लागि प्रयोग गरिने रेडियो फ्रिक्वेन्सी सम्वन्धी नीति निर्धारण तथा वाँडफाँड गर्नको लागि देहाय वमोजिमका अध्यक्ष तथा सदस्यहरु भएको एक रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समिति रहनेछः -

(क) सूचना तथा संचार मन्त्री वा राज्यमन्त्री - अध्यक्ष
(ख) सचिव, गृह मन्त्रालय - सदस्य
(ग) सचिव, रक्षा मन्त्रालय - सदस्य
(घ) सचिव, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय - सदस्य
(ङ) सचिव , सूचना तथा संचार मन्त्रालय - सदस्य
(च) अध्यक्ष, नेपाल दूरसंचार प्राधिकरण - सदस्य
(छ) मन्त्रालयको फ्रिक्वीन्सी सम्बन्धी काम
हेर्ने महाशाखा प्रमुख -सदस्य सचिव

(२) उपदफा (१) बमोजिम गठित समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
(क) रेडियो फ्रिक्वेन्सी सम्बन्धी नीति निर्धारण गर्ने ।
(ख) विभिन्न सेवाको लागि रेडियो फ्रिक्वेन्सी निर्धारण तथा बाँडफाँड गर्ने ।
(ग) रेडियो फ्रिक्वेन्सी प्रयोगको प्राथमिकता निर्धारण गर्ने ।
(घ) रेडियो फ्रिक्वेन्सीको मूल्य नीति तय गर्ने ।
(ङ) रेडियो फ्रिक्वेन्सीको अन्तर्राष्ट्रिय तथा बहुउद्देश्यीय समन्वयको लागि नीति तय
गर्ने ।
(३) उपदफा (१) बमोजिम गठित समितिको अन्य काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।
(४) मन्त्रालयको फ्रिक्वीन्सी हेर्ने महाशाखाले उपदफा (१) बमोजिम गठित समितिको सचिवालयको रुपमा काम गर्नेछ ।
(५) उपदफा (१) बमोजिम गठीत समितिको निर्णयहरु कार्यान्वयन गर्ने गराउने प्रमुख जिम्मेवारी सचिवालयको हुनेछ ।
(६) उपदफा (१) बमोजिम गठित समितिले आफ्नो काम कारवाही सूचारु रुपले सञ्चालन गर्नको लागि आवश्यकतानुसार उपसमिति गठन गर्न सक्नेछ ।
(७) उपदफा (१) बमोजिम गठित समितिका पदाधिकारीले तोकिए बमोजिमको वैठक भत्ता पाउनेछन् ।

४ख. रेडियो फ्रिक्वीन्सी निर्धारण तथा वाँडफाँड गर्ने तरीका र कार्यविधिः- (१) दफा ४क को उपदफा (१) वमोजिम गठित समितिले अन्तर्राष्ट्रिय दूर सञ्चार सेवा (आई.टि.यू) ले वाँडफाँड गरेको फ्रिक्वीन्सीको अधीनमा रहि नेपाल राज्यभित्र जुनसुकै सेवाको लागि प्रयोग गरिने रेडियो प्रिक्वीन्सीको निर्धारण तथा वाँडफाँड गर्नेछ ।
(२) उपदफा (१) बमोजिम विभिन्न सेवाको लागि निर्धारण तथा वाँडफाँड गरिएको फ्रिक्वीन्सी त्यस्तो फ्रिक्वीन्सी प्रयोग गर्ने वा गराउने निकायमा जानकारी गराउने काम रेडियो फ्रिक्वीन्सी नीति निर्धारण समितिको सदस्य सचिवले गर्नेछ ।
(३) उपदफा (२) बमोजिम जानकारी पाएको मितिले ३० दिन भित्र फ्रिक्वीन्सी प्रयोग गर्ने गराउने निकायले आफुले प्राप्त गरेको रेडियो फ्रिक्वीन्सी के प्रयोजनको लागि कसले प्रयोग गरेको वा प्रयोग गर्न स्वीकृति दिइएको हो सो को जानकारी तोकिए वमोजिमको ढाँचामा रेडियो फ्रिक्वीन्सी नीति निर्धारण समितिको सचिवालयमा गराउनु पर्नेछ ।

४ग. अभिलेख व्यवस्थापन एवं अनुगमन सम्वन्धी व्यवस्थाः- (१) मन्त्रालयले यस ऐन वमोजिम वाँडफाँड तथा वितरण गरिएको रेडियो फ्रिक्वीन्सीको केन्द्रिय अभिलेख राख्नेछ ।
(२) यस ऐन वमोजिम वाँडफाँड तथा वितरण गरिएका रेडियो फ्रिक्वीन्सीको अनुगमन मन्त्रालयले गर्नेछ ।
(३) अभिलेख व्यवस्थापन र अनुगमन सम्वन्धी अन्य व्यवस्थाहरु तोकिए बमोजिम हुनेछ ।

५. मूल ऐनको दफा ५ मा संशोधनः- मूल ऐनको दफा ५ को उपदफा (१) मा रहेको "तोकिएको अधिकारी ले" भन्ने शव्दहरु पछाडी "नव्वे दिन भित्र" भन्ने शव्दहरु थपि सोही दफाको उपदफा (३) मा रहेको "त्यस्तो पुनरावेदन परेकोमा" भन्ने शव्दहरु पछाडी रहेका वाक्यांशहरु झिकि सो को सट्टा "साठी दिन भित्र नेपाल सरकारवाट निर्णय हुनेछ र सो सम्वन्धमा नेपाल सरकारले गरेको निर्णय अन्तिम हुनेछ" भन्ने वाक्यांश राखीएको छ ।

६. मूल ऐनको दफा ६ मा संशोधनः मूल ऐनको दफा ६ को उपदफा (१) मा रहेको "बनाएमा" भन्ने शव्द पछि "विक्री वितरण गरेमा" भन्ने शव्दहरु, "बनाउने" भन्ने शव्दपछि, "विक्री वितरण गर्ने" भन्ने शव्दहरु र "प्रयोग गरेमा" भन्ने शव्दहरु पछि "वा दफा ४ ख को उपदफा (३) बमोजिम जानकारी नगर्राई कसैले रेडियो फ्रिक्वीन्सीको प्रयोग गरेमा" भन्ने शव्दहरु थपिएका छन् ।

७. रुपान्तरणः मूल ऐनको ठाउं ठाउंमा रहेको "श्री ५ को सरकार" भन्ने शव्दहरुको सट्टा "नेपाल सरकार" भन्ने शव्दहरु राखी रुपान्तरण गरिएको छ ।

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI